5/28/2008

किरात पुमा राईहरुको जीवन संस्कार

किरात पुमा राईहरुको जीवन संस्कार


प्रवीण पुमा
बिवाहको प्रकार
१ मागी विवाह:
केटाको तर्फबाट स्वेच्छाले केटीको घरमा रक्सीको कोसेली लगेर केटी मगनी गर्ने परम्परालाई नै मागी विवाह भनिन्छ । यो परम्परा किरात पुमा राईहरुमा प्राचीन कालदेखि नै चलिआएको हो र अहिले पनि यो चलन कायमै छ । यस कार्यमा केटापक्षबाट दुई र केटीपक्षबाट दुई जना गरी जम्मा चार जना कलिया मध्यस्थ व्यक्ति को ठूलो भूमिका हुन्छ । यस विवाहमा जन्तीसहित केटीको घरमा बेहुला जानुपर्छ ।

२ चोरी विवाह:
चोरी विवाहमा मागीमा जस्तो जन्तीसहित सबै रित गरिँदैन । तर केटीलाई राजी बनाई लाँदा चिनोको रुपमा रुमालमा केही पैसा केटाको तर्फबाट केटीलाई दिई केटाको घर लगिन्छ । त्यसपछि चोरको सोरमा केटीको घरमा मानिस पठाई तपाईहरुको छोरीचेली फलानको घरमा वा पासमा छ भनी जानकारी दिनुपर्छ । त्यसपछि केटीको घरको मर्जीबमोजिम केटाकेटी दुवैलाई बोलाई घर टेकाउने काम हुन्छ । अन्य रीतिहरु म्ाागी विवाह समान हुन्छन् ।

३ भाउजू विवाह:
किरात पुमा राईहरुको दाजुको मृत्युपछि भाउजूलाई गरिने विवाहलाई भाउजू विवाह भनिन्छ । विधुई भाउजू र देवरबीचमा पनि विवाह हुने चलन थियो तर अब त्यो चलन पूर्ण समाप्त भैसकेको छ ।

४ जारी विवाह:
अरुको श्रीमती विवाह गर्ने विवाह नै जारी विवाह हो । यो विवाहमा जारले पहिलेको केटोलाई जारी खत र धनमाल भएमा केटीले पाचभलाद्मी बसेको ठाउँमा फिर्ता गर्नु पर्दछ
५। हरण विवाह
जबरजस्ती हरण गरी आफूलाई मन परेको केटी विवाह गर्ने चलनलाई नै हरण विवाह भनिन्छ । धेरै वर्षसम्म कायम भएको यस्तो विवाह हाल समाप्त भइसकेको छ । यसरी गरिएको विवाहबाट जन्मेको सन्तान टाठो बाठो हुन्छन् भन्ने धारणा छ ।

मागी विवाहका संस्कारहरु:

क केटी मगनी:
मागी विवाहको हकमा कसैको छोरी माग्न जाँदा एकैचोटि केटीको घरमा नगै कुनै भरपर्दो मानिसलाई एक जोर वाबुक चिण्डो मा रक्सी राखी कोङ्पी लमी पक्री उसैको माध्यमबाट केटी दिने कुरा पक्का भएपछि मात्र रक्सीको कोसेली लगेर केटीको घरमा केटी माग्ने गरिन्छ । केटीको घरबाट पनि आफूले मात्र सुटुक्क केटी नदिई छरछिमेकीहरु व्ाा आफ्नो विश्वासिलो मानिस बोलाई सोधपुछ गरी अरुको राय पनि बुझ्ने काम हुन्छ । केटाको तर्फबाट कोसेली जोडी वाबुकमा रक्सी राखी दिएपछि बक्साउने फसा्रउने काम गरिन्छ । केटी दिएपछि कोसेलीलाई केटीको तर्फबाट स्वीकारी खाने पिउने काम गरिन्छ ।

ख जन्ती जाने:
विवाहको साइतको दिन बेहुलालाई घरभित्र टीका लगाइदिई ङापोङसहित जोडी कलिया जान्नेसुन्ने पुर्खा र रीतका सामग्रीहरुसहित जन्तीहरु लिएर केटीको घरमा जन्ती गइन्छ । छोरीचेलीको माइत भए त्यो पनि खाँदै पिउँदै दक्षिणा दिँदै केटीको घरमुनी पारेर जन्ती जानुपर्छ । केटीको घर नजिक पुगेपछि दुवैपट्टिको कलिया भेट भई जोडी वाबुकमा रक्सी बेहुला पट्टिकाले राखी नमस्कार गरेपछि सम्पूर्ण बक्साउनी फसा्रउनी हुन्छ ।

ग बुलु बटुको बुझाउने:
बेहुली प्राप्त भैसकेपछि बेहुलाको घरमा भित्र्याउने साइत हेरी उक्त दिन केटा सहित बूढापाका कलियाहरु जन्तीहरु केटीको घरमा आई रीतपूर्णरुपमा कोसेली पातहरु बुझाउनु पर्दछ । यतिखेर केटाको तर्फबाट काँसको बटुकोभित्र एउटा वाबुकमा रक्सी भालेको रगत र मोहर पैसासहित बेहुली पक्षलाई बुझाउनुपर्छ । यही विधिलाई बुलु बटुको बुझाउने भनिन्छ । यसपछि केटीमाथि केटाको पूरा हक लाग्छ । स्मरण रहोस् किरात पुमा राईहरुको यो बुलु बटुको नबुझाएमा उसको कुनै पनि शाखा सन्तानको गर्नु नहुने भएकोले बुलु बटुको नबुझाएमा मृत्युपछि पनि अनिवार्य रुपमा बुझाउनै पर्छ ।

घ जन्ती पर्छाउने:
रीत पुर् याई बक्साउनी फसा्रउनीपछि कलियाको आदेश बमोजिम बेहुलासहित जन्तीलाई पर्छाउन बेहुलीपट्टिका गाछीघर दाजुभाइ र नाताहरु आई दियो कलश दही अक्षता नाङ्लोमा राखेर कन्याचेलीहरुलाई बोकाई सात फन्को घुमाएपछि एकैचोटि जन्तीलाई दही चामलले पर्छाइन्छ । यत्ति नै खेर बाजा बजाउनेले बाजा भाका फिराई-फिराई गड्गडाएर बजाउँछ भने बन्दुकेले आलोपालो गरी पहिले बेहुलीतर्फकाले र त्यसपछि बेहुलातर्फकाले क्रमशः पडकाउने गरिन्छ ।

ङ भतेर भोज:
जन्तीहरुलाई पर्छाइसकेपछि भतेरको लागि भान्सामा लगिन्छ । बेहुलालाई विशेष खालको बरण्डी सिलाई त्यसैमा खाने कुरा राखिन्छ । सर्वप्रथम बेहुलाले खानाको लागि हात छोडेपछि मात्र अरुले पनि शुरु गर्दछन् ।

सुङ्खिम:
खानपिन भएपछि जन्तीहरु बेहुलीपट्टिको कलियाको आज्ञाबमोजिम गाछीघरको आँगनमा प्रवेश गर्दछन् । जन्तीहरु रातभर आराम गर्नको लागि छाना हालेर विशेष व्यवस्था गरिएको हुन्छ । त्यसलाई सुङ्खिम भनिन्छ । बेलुकी बेहुला बेहुली दुवैतर्फको कलिया जान्नेसुन्ने पुर्खाहरु र रीतभाँतको कोसेलीहरु भित्र हुली रीतभाँतको कार्य शुरु हुन्छ । बाहिर दमाईले नौमति बजाउन शुरु गर्दछन् ।

छ बागदत्त टीकाटालो:
बागदत्त विवाहको अर्को महत्वपूर्ण रीत हो । त्यसमा बेहुलालाई सेतो दौरा सुरुवाल पटुका फेटा कालो जुत्ता र छाता प्वाँलो वा जन्तर बेहुलीको लागि सारी पछेउरा चोला छाता सेतो पटुका सक्नेले खुट्टामा चाँदीको कल्ली हातमा चाँदीको बाँही चुरा जन्तर तिलहरी कानमा चेप्टे सुन जन्तर ढुङ्गी मुन्द्रीजस्ता गहनापातले पहिराई सिन्दुर पोते गरिन्छ । त्यसपछि केटी पक्षको आमाबाबु जिवित भएमा संयुक्त रुपमा र नभएमा अन्य संयुक्त जोडीले टीका लगाई आशीर्वाद दिनु पर्दछ । यत्ति नै खेर बेहुलापट्टिका लोकोन्दे बेहुलीपट्टिको तोकोन्दीले बर्को एकछिन खोसाखोस गर्नुपर्छ । तर च्यात्नु फ्याक्नु पाइदैन । यदि बेहुलीपट्टिकाले जितेर लग्यो भने बेहुलापट्टिकाले रितअनुसार दस्तुर आठाना चाराना तिर्नु पर्दछ । यो टीकाटालो सकिएपछि धरान-परान गरिन्छ । यो धरान-परानमा हार्ने पक्षले जरिवाना स्वरुप रक्सी र केही पैसा दण्ड तिर्नुपर्छ ।

ज जन्ती फर्काउने:
बिहान सम्पूर्ण रीतभाँत समाप्त गरेर जन्ती पठाउने बेलामा केही पर बाटोमा बासको सेउली गाडी मासुको सिल झुण्ड्याई दुईजोडी मटियामा रक्सी घइलामा जाँड र त्यसको माथि छुम्परी राखेर जन्तीको बाटो छेक्दै बेहुलीपट्टिकाहरुबाट धुमधामसँग साकेन्वा सिली नाच्छन् । जन्तीहरु पनि त्यही बाटो भएर आउँछन् । त्यहाँ बेहुलीले घरको सह नलैजावोस् भन्नाको लागि ङापोङले मुन्दुम्द्धारा झार्ने काम पनि गर्दछ । अब जन्तीहरु त्यही आई उक्त रक्सी खाएर एकछिन साकेन्वा संयुक्त रुपमा नाच्छन् । त्यसपछि जन्तीहरु नाच्दै बाटो लाग्छन् यता बेहुलीपट्टिकाहरुले चाहिँ सेउली सहित घरभित्र पसी अगेना वरिपरि नाचेपछि ङापोङले यसलाई विधिपूर्वक समाप्त गर्दछ ।

झ बेहुली भित्र्याउने:
बेहुलाको घरमा ल्याएपछि बेहुला बेहुली र जन्तीहरुलाई जन्ती पर्छिन्छ त्यसपछि मूल दैलो छेउमा केटाले केटीको दाहिने हात समातेर आमालाई दिनुपर्छ र आमाले हात समातेर घरभित्र हुलेपछि मात्र केटीभित्र पस्दछ । केटाकेटीलाई पूर्खा चुलाको छेउमा राखेर बेहुलाले बेहुलीको सिउँदोमा सिन्दुर लगाइदिन्छ ।
त्यसपछि गहनापातले पहिराई जोडाजोडी हुनेले सर्वप्रथम टीका लगाइदिएपछि अरुले पनि टीका लगाइदिई आशीर्वाद दिन्छन् । यसपछि दही र रक्सी एकअर्काको जुठो मिसाएर ख्वाउने गरिन्छ । त्यसदिन केटालाई औपचारिक रुपमा श्रीमतीले केटाको खुट्टामा ढोगदिनु पर्दछ । बेहुलीलाई बेहुलाको घरमा जन्तीको साथमा ल्याइसकेपछि पुनः पर्छाई टीकाटालो लगाइ दिइन्छ । त्यसपछि भतेरमा सबैलाई भातभान्सा गराइन्छ । यहाँ पनि बेहुलाले बरण्डी फोर्नु पर्दछ । त्यसपछि विवाहको चरण समाप्त हुन्छ
बेहुली फर्काउने:
विवाहको भोलिपल्ट बेहुला-बेहुली दुवै रोटी रक्सी सुँगुरको साप्रा रुाचे फिला कोसेलीसहित बेहुलीको घरमा फर्कनु पर्दछ । त्यो कोसेली गाजी घर कलिया र दाजुभाइले खान्छन् ।

मृत्यु संस्कार:
किरात पुमा राईहरु मरेपछि उनीहरुको चिरआत्मा चुल्हामा आउने जनविश्वास छ । तर चुल्हामा आउनको लागि पनि सहज मरण हुनु आवश्यक छ । तसर्थ किरात पुमा राईहरुको मृत्यु संस्कारहरु निम्नअनुसारको रहेको छ ः

१ सहज मृत्यु:
सामान्य अवस्थाबाट भएको मरणलाई समानपूर्ण ढंगबाट संस्कार गरिन्छ । मरेको लाशलाई घरबाहिर निकाली शवको निधारमा ढ्याके पैसा राखेर रख्य खाचा चोखो जाँडपानी छर्किन्छन् । दाजुभाइ नरनाता सबै भेला भई विधिपूर्वक घरको नजिकमा गाडिन्छ ।

२ असहज मृत्यु:
घाउखटिरा आएर सुन्निएर विष खाएर झुण्डिएर सुत्केरी भएर इत्यादि कारणहरुबाट मरेमा त्यसलाई असहज मृत्यु मानिन्छ । यसरी मरेको मान्छेलाई चुला÷पूर्खामा बोलाउन हुँदैन । यदि छेवर र गुन्यूचोलो नदिएका बच्चाहरुको मृत्यु भएमा वनको ओढारमा राख्नुपर्दछ । चोखिने दिन बेलुका धामी विजुवालाई चिन्ता बसाई त्यस्ताको मृतात्मालाई मार्नुपर्छ । यसलाई ुसियाँ मार्नेु भनिन्छ ।

३ दुःख बार्ने वििध:
लाशलाई दबाइसकेपछि दुःख बार्ने उत्तराधिकारी छोराहरुले धारामा गई कपाल खौरनु पर्दछ भने स्त्री वा महिलाहरुले कपाल नुहाउनु पर्दछ । मरौ परेको घरमा भित्रबाट लिप्तै बाहिर निकाल्नु पर्दछ । जुठो बार्नेहरु लगायत सबै मलामीहरु शव दबाईसकेपछि आँगनमा राखिएको आगोको पुल्ठोलाई टेक्तै घरभित्र पस्नुपर्दछ । खोलाटोलाको चलन अनुसार कुनै ठाउँमा पाँच दिन र कुनै ठाउँमा एक दिन मात्रै पनि जुठो÷दुःख बार्ने चलन छ । आमाको मृत्युमा चोखिने समय नआएसम्म दूध बार्ने र यदि काँसको थाल छोरीचेलीलाई दान गर्नुछ भने काँसमा पनि खान हुँदैन ।

४ दुःख फुकाउने वििध:
किरात पुमा राईहरुले मरेको दिनलाई गणना गरेर विजोडी दिनपारी चोखिनु पर्दछ । दुःखबाट चोखिने दिन पुनः मृतआत्मालाई घरको चुलामा बोलाई खान दिएर पुनः बूढाहोङ आकाश देव मा नै पुर् याउनु पर्दछ । दुःखबाट चोखिने दिन मृतकको नाममा चौतारा बनाई शिलालेख राखी बरपीपल रोपी दिने चलन छ । मृतकको ढुङ्गाको मूर्ति बनाएर चौतारोमा गाडेर त्यसमा ङापोङद्धारा मुन्दुम गाउँदै भात मासु जाँडरक्सी चढाइन्छ ।
दुःख फुकाउने भनी मावली र ससुरालीलाई दुःख बोक्नेहरुलाई फेटा लगाइदिने चलन छ । दान दिने कुराहरु भएमा यसै दिन भााजा-भााजीहरुलाई दिइन्छ । किरियापुत्री बसेकाले छोरी-चेली भान्जाभााजी ज्वाई-चेलालाई टीका लगाइदिएपछि ढोगभेट सबै फुक्छ । यसरी किरात पुमा राईहरुको जीवन संस्कार सम्पन्न हुन्छ ।





माथिका लेखहरुमा नेपाली भाषामा उल्था गर्दा अर्थ सही नलाग्ने भएको हुँदा किरात पुमा राई भाषामा नै राखिएको छ ः सं।

No comments: